News लिग विजेता झापाली खेलाडी गृह जिल्लामा सम्मानित हुने
गोलनेपाल

बिर्तामोड । शनिबार मात्र कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि ऐतिहासिक रुपमा पहिलोपटक जित्न सफल मच्छिन्द्र क्लबका झापाली खेलाडीहरु गृह जिल्ला झापामा सम्मानित हुने भएका छन् ।

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्र कुमार गिरीले झापाली खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मानित गर्न लागेको बताए । अध्यक्ष गिरीका अनुसार गृहजिल्लाका खेलाडीहरुलाई यसरी सम्मान गर्दा खेलाडीहरुलाई फुटबलमा लाग्न थप मनोबल र हौसला मिल्ने बताए ।

लिगमा यस सिजन मच्छिन्द्रबाट झापाका बिशाल राई ए, बिशाल राई बी, योगेश गुरुङ, देवेन्द्र तामाङ, विमान प्रसाद राई र रेजिन सुब्बाले खेलेका थिए । साथै मच्छिन्द्रको प्रशिक्षकमा झापा–११ कै पूर्व कप्तान प्रवेश कटुवाल समेत छन् । उनकै प्रशिक्षकीय जिम्मेवारीमा मच्छिन्द्र नेपालको नयाँ लिग च्याम्पियन बन्न सफल भएको हो ।

स्मरण रहोस, शनिबार मात्र भएको लिगको निर्णायक भिडन्तमा मच्छिन्द्रले दावेदार मानिएको त्रिभुवन आमीृ क्लबलाई १–० को झिनो अन्तरले हराउँदै लिग उपाधि जित्न सफल भएको थियो ।

Post Comments