News सुरेश नायक बन्दा एभरेष्ट सेमिफाइनलमा
गोलनेपाल

चितवन । आयोजक एभरेष्ट क्लब यहाँ जारी छैठौं चितवन च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा एभरेष्टले बिवाइसी (जुएफसी) लाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा भएको खेलमा दुवै तर्फबाट भएका तीनै गोलहरु दोस्रो हाफमा सम्भव भए । खेलको ६६औं मिनटमा सुरेश कुमालले पहिलो गोल गर्दै एभरेष्टलाई शुरुवाती अग्रता दिलाएका थिए । तर ७९औं मिनटमा विवाइसीका लागि दिपेश आले मगरले बराबरी गोल फर्काएका थिए ।

खेल रोमाञ्चक बराबरीतर्फ लम्किरहेका बेला खेलको इन्जुरी समयमा सुरेश कुमालले नै एभरेष्टका लागि व्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै आयोजक टोलीलाई सेमिफाइनलमा पुर्याउन नायक बने ।

खेलमा एभरेष्टका सुरेश कुमाल खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असार १३ गते बुधबारको पहिलो सेमिफाइनल खेल सेन्ट्रल कलेज रड्स रामपुर र गैंडाकोट एफसीबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments