News एपिएफले यु–१६ लिग खेल्नेमा अन्यौल
गोलनेपाल

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले यही असार ३० गतेदेखि शुरु हुने भनिएको यु–१६ ए डिभिजन लिगमा सहभागि नहुने निर्णय गरेको छ । प्रतियोगिता मिति तय भएसँगै सम्बन्धित क्लबहरुलाई असार १२ गतेसम्म टिमदर्ता गनुपर्ने बताइएको थियो ।

तर विभागीय टोली एपिएफले अहिले सम्म टिम दर्ता गरेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)मा हालेको उजुरीको बिषयमा निर्णय नआएसम्म विरोध स्वरुप एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगिताहरुमा सहभागिता नजनाउने एपिएफले निर्णय गरेको छ ।

स्मरण रहोस, एपिएफ क्लबले भर्खरै सम्पन्न ए डिभिजन लिगमा खेल मिलेमतो र विदेशी खेलाडीहरु भिषा समाप्त भएर पनि लिग खेलेको विषयमा आवश्यक छानबिन गर्न एन्फासँग लिखित उजुरी दिएको थियो । यद्यपि त्यसबारे अहिलेसम्म कुनै निर्णय नभएको निकट स्रोतले जनाएको छ ।

यता एपिएफ क्लबले नेपाल एपिएफ स्कुल, किर्तिपुरसँग सहकार्य गरि दुई अगाडीदेखि देशैभरिबाट युवा खेलाडी छनौट गरी एकेडेमी सञ्चालन गरिरहेको छ । जिल्ला, प्रदेशबाट छनौट प्रतियोगिता खेल्दै आएर नेपाल एपिएफ फुटबल क्लबको एकेडेमीमा परेका युवा खेलाडीहरुलाई युथ फुटबलको मेरुदण्डका रुपमा रहेको यु–१६ लिगमा सहभागीता नगराए खेलाडीहरुको दैनिक खेलजीवन र कलिलो मानसिकतामा नकरात्मक असर पर्ने सम्भावना पनि छ ।

एन्फाले एपिएफ फुटबल क्लबले गरेको उजुरीको विषयमा छिटो निर्णय गर्न जरुरी छ । क्लब र एन्फाको विवादका कारण फुटबलमा भबिष्य बनाउने सोच बोकेर सानै उमेरमा आमा बुबाको काख छोडेर होस्टेल आएका युवा खेलाडीको कलिलो सपना माथी खेलवाड नभए राम्रो हुने थियो । क्लबले युवा खेलाडीहरुको भबिष्यबारे सोचेर भएपनि यु–१६ लिग खेल्न क्लबलाई सहभागिता गराउन जरुरी छ ।

उता क्लबको प्रशिक्षण निरन्तर भइरहेको र क्लबले भनेको खण्डमा लिग खेल्न टिम तयार रहेको नेपाल एपिएफ स्कुलका फुटबल प्रशिक्षकले जान्कारी दिएका छन् ।

Post Comments