News बेलबारी र पथरीको विजयी शुरुवात
गोलनेपाल

बेलबारी । बि.एम. फुटबल एकेडेमी, बेलबारी–६, मोरङको आयोजनामा शुरु बोराबाँध सोमबारे कप खुला नकआउट फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब र पथरी फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।

स्कुल डाँडा खेलमैदानमा भएको उद्घाटन खेलमा बेलबारीले पंचायन फुटबल क्लबलाई ४–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । बेलबारीको जितमा निकेत मगरले दुई गोल गरे भने प्रकाश मगर र चुडामणीले एक–एक गोल गरे । पंचायनका लागि सन्दिप लिम्बुले एक मात्र गोल फर्काए ।

खेलमा बेलबारीका निकेत मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५०० सय र मेडल हात पारे । साथै यो जितसँगै बेलबारी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

पहिलो दिन नै भएको दोस्रो खेलमा पथरीले बेतना युनाइटेड क्लबलाई ३–० ले निराश तुल्यायो । पथरीको जिमा साइमन लिम्बुले दुई तथा मंजित खड्काले एक गोल गरे । दुई गोल गरेका पथरीका साइमन लिम्बु म्यान अफ द म्याच समेत चुनिए । उनले पनि नगद ५ सय सहित मेडल हात पारे । जित हात पारेको पथरी पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकीले गरेका थिए । प्रतियोगिता अन्तरगत साउन ९ गते मंगलबारको पहिलो खेल भाउन्ने युथ क्लब र होटखोला युथ क्लबबीच हुनेछ भने दोस्रो खेल कुसुमे साइनिङ क्लब र आयोजक बि.एम. एकेडेमीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन ११ गतेका दिन हुनेछ ।

Post Comments