News आहना, लुम्बिनी र चरङ्गेको जित
सुरज राना मगर

तिलोत्तमा । दोस्रो चपरहट्टी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा आहना एफसी, लुम्बिनी तिलोत्तमा क्लब र चरङ्गे एफसीले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो खेलमा आहनाले सिद्धार्थ एफसीलाई २–१ ले हरायो । आहनाको जितमा विपुल रसाइली र सुस्मित केसीले गोल गरे । पराजित सिद्धार्थका लागि देव दर्लामीले गोल गरेका थिए । खेलमा आहनाका कप्तान मिलन आले म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा लुम्बिनी तिलोत्तमाले नव शान्ती क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । लुम्बिनीको जितमा सुशिल गुरुङ, आशिष ज्ञवाली र सुशिल रोकाले गोल गरे । खेलमा लुम्बिनीका आशिष ज्ञवाली म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा चरङ्गेले रानीगंज युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ रानीगंजका लागि सनम परियारले गोल गरे भने चरङ्गेका लागि अनुप गुरुङले गोल गरेका थिए । खेलमा चरङ्गेका गोलरक्षक मौसम गोले म्यान अफ द म्याच चुनिए ।

जित हात पारेका तीन टोलीहरुले प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत साउन १० गते बुधबार पनि तीन खेलहरु हुने आयोजकले जानकारी दियो ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

Post Comments