News भाउन्ने र कुसुमे सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । भाउन्ने युथ क्लब र कुसुमे साइनिङ क्लब यहाँ जारी बोराबाँध सोमबारे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । तेस्रो क्वाटरफाइनलतर्फ भाउन्नेले हाटखोला फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्कुल डाँडा खेलमैदानमा भएको खेलमा भाउन्नेका लागि अरुण लिम्बुले एक मात्र गोल गरे । निर्णायक गोलकर्ता लिम्बु नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ सय र मेडल हात पारे ।

त्यस्तै चौथो क्वाटरफाइनलमा कुसुमे साइनिङले आयोजक बि.एम. फुटबल एकेडेमीलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा कुसुमे साइनिङका गोलरक्षक पुर्ण चेम्जोङ म्यान अफ द म्याच घोषित भए । उनले पनि नगद ५ सय र मेडल हात पारे ।

बि.एम. फुटबल एकेडेमी, बेलबारी–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन ११ गतेका दिन हुनेछ ।

Post Comments