News पथरी र कुसुमे साइनिङ फाइनलमा भिड्दै
गोलनेपाल

बेलबारी । पथरी फुटबल क्लब र कुसुमे साइनिङ क्लब यहाँ जारी बोराबाँध सोमबारे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

स्कुल डाँडा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा पथरीले बेलबारी फुटबल क्लबलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । पथरीको जितमा साइमन लिम्बु एक्लैले ह्याट्रिक गरे । पराजित बेलबारीका लागि प्रकाश मगर र मौसम लिम्बुले गोल गरे । खेलमा पथरीका साइमन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ सय र मेडल हात पारे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा कुसुमे साइनिङले भाउन्ने युथ क्लबलाई २–० ले हरायो । कुसुमेको जितमा दुवै गोल बिरेन चेम्जोङले गरे । र निर्णायक दुई गोल गरेका चेम्जोङ नै खेलको म्यान अफ द म्याच पनि चुनिए । उनले पनि पुरस्कार वापत नगद ५ सय र मेडल हात पारे ।

अब बिहीबार नै हुने फाइनलमा पथरी र कुसुमे उपाधिका लागि भिड्ने छन् । बि.एम. फुटबल एकेडेमी, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments