News बिएनसी, न्यु सिर्जना र एनबीएको जित
सुरज राना मगर

तिलोत्तमा । दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा बिहीबार न्यु सिर्जना युवा क्लब, एनबीए एफसी र बिएनसीले जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको दिनको पहिलो खेलमा बिएनसीले वाक ओभर पायो । विपक्षी टोली फुलबारी गाईज मैदानमा उपस्थित हुन नसकेपछि बिएनसीलाई विजयी घोषित गरिएको खेल संयोजक देव गुरुङले बताए ।

त्यस्तै दोस्रो खेलमा न्यु सिर्जनाले हरिहरपुर एफसीलाई ६–० को फराकिलो अन्तरले हरायो । न्यु सिर्जनाको जितमा हिमाल थापा एक्लैले पाँच गोल गरे भने कप्तान प्रवेश क्षेत्रीले थप एक गोल गरे । पाँच गोल गरेका न्यु सिर्जनाका हिमाल थापा म्यान अफ द म्याच पनि चुनिए ।

दिनको अन्तिम खेलमा एनबीएले रिभर साईडलाई शून्यका विरुद्ध १ गोलले हरायो । एनबिएको जितमा सुवास गुरुङले एक मात्र निर्णायक गोल गरे । खेलमा एनबिए कै गणेश गुरुङ म्यान अफ द म्याच घोषित भए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

Post Comments