News पथरीलाई बोराबाँध सोमबारे कपको उपाधि
गोलनेपाल

बेलबारी । बोराबाँध सोमबारे कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरी फुटबल क्लबले जितेको छ । फाइनलमा कुसुमे साइनिङ क्लबलाई २–१ ले हराउँदै पथरीले उपाधि जित्न सफल भएको हो ।

स्कुल डाँडा खेलमैदानमा भएको फाइनल खेलमा पथरीका लागि दुवै गोल शोरे राउतले गरे । उता पराजित कुसुमे साइनिङका लागि आमोस लिम्बुले एक मात्र गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच पथरीका शोरे राउत चुनिए । उनले पुरस्कार वापत नगद ५ सय र मेडल हात पारे ।

विजेता बनेको पथरीले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता कुसुमे साइनिङले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक पथरीका समिर क्षेत्री चुनिए । उत्कृष्ट प्रशिक्षक पथरी कै लाल बहादुर लावती बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पथरीका साइमन लिम्बुले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १–१ हजार र ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कुसुमेका असिम राई घोषित भए । त्यसवापत उनले नगद १५ सय र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कृत गरेका थिए ।

बि.एम. फुटबल एकेडेमी, बेलबारी–६, मोरङको आयोजनामा साउन ८ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments