News बेलबास, राना ब्रदर्श र आहना प्रिक्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । बेलबास एफसी, राना ब्रदर्श र आहना एफसी यहाँ जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको दिनको पहिलो खेलमा बेलबासले आहना युनाइटेडलाई २–० ले हरायो । बेलबासको जितमा प्रिन्स गुरुङ र निशान न्यौपानेले गोल गरे । खेलमा बेलबासका निशान न्यौपाने म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा राना ब्रदर्शले पिसी क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ पिसीका लागि निश्चल राना र रोशन थापाले गोल गरे भने राना ब्रदर्शका लागि दुवै गोल जमिर मियाँले गरे । मियाँ खेलको म्यान अफ द म्याच पनि चुनिए ।

तेस्रो खेलमा आहनाले चरङ्गे एफसीलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ आहनाका लागि मिलन आलेले गोल गरेका थिए भने चरङ्गेका लागि अनिल ज्ञवालीले गोल गरेका थिए । खेलमा आहनामा मिलन आले म्यान अफ द म्याच घोषित भए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

 

 

Post Comments