News सुर्यपुर एफसीको फुटबल ट्रेनिङ सेन्टर शुरु
सुरज राना मगर

कालिका । मोफसलको फुटबलमा बाल खेलाडीहरुको फुटबलप्रति लगाव बढी देखिन थालेपछि त्यसलाई मध्यनजर गर्दै सुर्यपुर फुटबल क्लब, चितवनले पनि ‘सुर्यपुर फुटबल ट्रेनिङ सेन्टर’ को नाममा फुटबल प्रशिक्षण केन्द्र शुरु गरेको छ ।

कालिका नगरपालिका–१, चितवन स्थित गढुवा खेलमैदानमा बाल खेलाडीहरुलई नियमित प्रशिक्षण दिने गरी ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको क्लबले जनाएको छ । अहिलेलाई साँझको समयमा मात्र प्रशिक्षण दिने गरी सेन्टरको शुरुवात गरिएको पनि क्लबले जानकारी दियो । साथै आउने दिनहरुमा आवश्यकता हेरी बिहान र साँझ प्रशिक्षण दिने योजनामा रहेको पनि क्लबले सुनायो ।

उता ट्रेनिङ सेन्टरका प्रशिक्षक सुमन श्रेष्ठले हाल ४०–५० को हाराहारीमा बाल खेलाडीहरुलाई फुटबल प्रशिक्षण दिईने जानकारी दिए । एएफसी बी लाइसेन्स प्रशिक्षक समेत रहेका श्रेष्ठले आफूले जानेको र बुझेको सीप बाल खेलाडीहरुलाई दिएर उनीहरुलाई अब्बल खेलाडी बनाउन सक्दो प्रयास गर्ने बताए ।

त्यस्तै फुटबलमा यहाँका बाल खेलाडीहरुको लगाव र झुकाव कै कारण ट्रेनिङ सेन्टरको शुरुवात गरिएको सुर्यपुर एफसीका अध्यक्ष अभिषेक लामाले बताए । फुटबलमा स्थानीयस्तरबाटै राम्रा खेलाडीहरु उत्पादन होस भन्ने उद्देश्य र लक्ष्य आफूहरुले लिएको पनि अध्यक्ष लामाले बताए । साथै ट्रेनिङ सेन्टर शुरुवात गर्न भौतिक रुपमा विभिन्न माध्यमबाट सहयोग पुर्याउने सबैलाई उनले आभार र धन्यावाद पनि दिए ।

 

Post Comments