News देवदह र बेलबास क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । देवदह ब्वाईज र बेलबास एफसी यहाँ जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो खेलमा देवदहले राना ब्रदर्शमाथि ५–१ को प्रभावशाली जित निकाल्यो । देवदहका लागि एरोन थापाले ह्याट्रिक गरे भने थप दुई गोल सुरज चौधरीले गरे । उता पराजित राना ब्रदर्शका लागि जमिर मियाँले एक मात्र गोल फर्काए । खेलमा ह्याट्रिक गरेका देवदहका एरोन थापा म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अर्को प्रिक्वाटरफाइनलमा बेलबासले डिएस युनाइटेडमाथि ३–० को जित निकाल्यो । बेलबासका लागि अजित गुरुङले दुई गोल गर्दा थप एक गोल निखिल कार्कीले गरे । खेलमा दुई गोल गरेका बेलबासका अजित गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत साउन १६ गते मंगलबारको अन्तिम दुई प्रिक्वाटरफाइनल खेलहरु हुनेछन् । जसअन्तरगत पहिलो खेल आहना एफसी र सञ्जिवनी युवा क्लबबीच हुनेछ भने अर्को खेलमा एनबीए क्लब र ओमसतिया भिड्ने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

चपरहट्टी युवा क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन २१ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष हिमाल सारुले जानकारी दिए ।

Post Comments