News ४२औंं तीज मेला आमन्त्रित फुटबल प्रतियोगिता भदौ अन्तिम सातादेखि
गोलनेपाल

अन्नपुर्ण । ‘ढिकुरपोखरीको शान, तीजमा भकुण्डो हाम्रो पहिचान’ भन्ने नारासहित ढिकुरपोखरी युवा सञ्जाल, कास्कीको आयोजनामा आउँदो भदौ २९ गतेदेखि ४२औं तीज मेला तथा आमन्त्रित खुला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

अन्नपुर्ण–२, कास्की स्थित ढिकुरपोखरी खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित ३,००,३०० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,७०,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै अनुशासित टोलीले १५ हजारसहित ट्रफी हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडीले १० हजार र सर्वाधिक गोलकर्ताले ८ हजारसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो ।

गण्डकी प्रदेशका उत्कृष्ट १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल असोज २ गतेका दिन हुनेछ । त्यसबाहेक महिला प्रतियोगिता, तीज गीत प्रतियोगिता, रस्सी तान्ने र छेलो प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

अन्नपुर्ण गाउँपालिका, कास्की संरक्षक तथा प्रवद्र्धक रहेको प्रतियोगितामा कास्की जिल्ला फुटबल संघको विशेष सहयोग रहनेछ । त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

Post Comments