News राधाकृष्ण कप यु–१८ फुटबल प्रतियोगिता शुरु
सुरज राना मगर

बुटवल । राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा साउन २९ गते सोमबारदेखि राधाकृष्ण कप यु–१८ फाईभ ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । पहिलो दिनको खेलमा आयोजक राधाकृष्ण फुटबल क्लब (ए) र बेलबास फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।

बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको उद्घाटन खेलमा राधाकृष्णले एभरेष्ट फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो । राधाकृष्णको जितमा संगम सोमरे र अमन थापाले दुई–दुई गोल गरे भने थप एक गोल अर्पन पुनले गरे ।

त्यस्तै दोस्रो खेलमा बेलबासले चिडिया ब्वाईज क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । बेलबासको जितमा बिलाज पुनले दुई गोल गरे भने अंकित सिंजापतिले थप एक गोल गरे । सोमबार जित हात पारेको राधाकृष्ण बाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने बेलबास प्रिक्वाटरफाइनलमा प्रवेश गरेको खेल संयोजक अभिषेक खड्गीले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच बुटवल वार्ड नम्बर ९ का वार्ड सदस्य तथा युवा फुटबल अभियन्ता विवेश पुरी (भरत), आयोजक क्लबका अध्यक्ष सानु बराल लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल २४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ ४ गतेका दिन हुने पनि खेल संयोजक अभिषेक खड्गीले बताए ।

Post Comments