News रुपन्देहीमा यु–१३ इलिट कप शुरु
सुरज राना मगर

तिलोत्तमा । ग्रासरुट लेभलबाटै बाल खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ इलिट एकेडेमी, तिलोत्तमा, रुपन्देहीको आयोजनामा यु–१३ इलिट कप फुटसलप्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा–७, भलवारी स्थित सनराईज फुटसलमा शुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो चरणका खेलहरु सम्पन्न भएको खेल संयोजक सिजन थापाले बताए ।

भदौ १६ गते शनिबार दोस्रो चरणका खेलसँगै फाइनल खेल र समापन कार्यक्रम पनि हुने संयोजक थापाले जानकारी दिए । फुटबल सिकाउन ग्रासरुट लेभल नै उपयुक्त रहेकाले आफूहरुले यु–१३ फुटबल प्रतियोगिता आयोजना गरेको संयोजक सिजन थापाले बताए ।

त्यस्तै प्रतियोगिताका सह–संयोजक र प्रशिक्षक समेत रहेका ओम प्रकाश थापाले युथ लेभलको प्रतियोगिता भए पनि बाल टोलीहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएकाले ग्रासरुट लेभल मै बाल खेलाडीहरुको आकर्षण धेरै रहेको सह–संयोजक थापाले स्पष्ट पारे ।

कुशल मंगल नर्सरीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सिजन थापाले जानकारी दिए ।

Post Comments