News रेड हर्ष बन्यो ताप्लेजुङ गोल्डकपको च्याम्पियन
गोलनेपाल

फुङलिङ । रेड हर्ष फुटबल क्लब, इलाम यहाँ सम्पन्न ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । बुधबार भएको फाइनल भिडन्तमा रेड हर्षले जुट विकास फुटबल एकेडेमी, इटहरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

श्री भानु जन माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा रेड हर्षका लागि ३१औं मिनटमा शरण बस्नेतले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको रेड हर्षले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्यो भने उपविजेता जुट विकास एफएले १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलमा निर्णायक गोल गरेका रेड हर्षका शरण बस्नेत म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

उत्कृष्ट गोलरक्षक रेड हर्ष कै विवेक मगर घोषित भए भने उत्कृष्ट डिफेन्डर जुट विकासका रमेश राजवंशी चुनिए । उत्कृष्ट मिडफिल्डर पनि जुट विकास कै रोहन कार्की बन्दा उत्कृष्ट प्रशिक्षक रेड हर्षका छिरिङ पासाङ घोषित भए ।

उदीयमान खेलाडी मानभरा स्र्पोटिङका दिपेश लिम्बु चुनिए भने सर्वाधिक गोलकर्ता रेड हर्षका आशिष राई बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ७–७ हजार र ट्रफी हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी रेड हर्षका छिरिङ गुरुङ बने । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

लाखेजात्रा संचालन समिति, ताप्लेजुङको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments