News आहा रारा गोल्डकप शुरु, आयोजकको विजयी शुरुवात
गोलनेपाल

पोखरा । बिहीबारदेखि पोखरामा शुरु प्रतिष्ठित १८औं आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब, पोखराले विजयी शुरुवात गरेको छ ।

पोखरा रंगशालामा भएको रोमाञ्चक उद्घाटन भिडन्तमा सहाराले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई ३–२ ले हरायो र क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

दुईपटकको अग्रता जोगाउन नसकेको बीबीसीले अन्ततः घरेलु टोलीसँग नमिठा हार बेहोर्न पुग्यो । खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए । बीबीसीका लागि ५८औं मिनटमा राजेश परियारले पहिलो गोल गरे ।

यद्यपि ६२औं मिनटमा उलरिचे सिवेले सहाराका लागि पहिलो बराबरी गोल फर्काए । तर त्यसको एक मिनट लगतै बिजय गुरुङले बीबीसीका लागि दोस्रो गोल गर्दै टोलीलाई फेरि खेलमा अग्रता दिलाए ।

तर बीबीसीले त्यो अग्रता पनि जोगाउन सकेन । उता आयोजकका लागि त्रिदेव गुरुङ नायक बने । त्रिदेवले ७४औं मिनटमा सहाराका लागि दोस्रो बराबरी गोल फर्काए । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

अतिरिक्त समयको १०४औं मिनटमा त्रिदेवले नै सहाराका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको रोमाञ्चक जित पक्का गरे । खेलमा त्रिदेव नै म्यान अफ द म्याच घोषित भए । सहाराले अब फागुन २४ गते क्वाटरफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन २३ गते शुक्रबारको खेल झापा–११ एफसी र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ । सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments