News मुख्यमन्त्री कोहलपुर गोल्डकपमा चर्च ब्वाईजको विजयी शुरुवात
गोलनेपाल

कोहलपुर । बुधबारदेखि शुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड, काठमाडौंले विजयी शुरुवात गरेको छ ।

कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिगाहा खेलमैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाईजले आयोजक रेसिङ सहारा क्लब, कोहलपुरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा चर्च ब्वाईजका गोलरक्षक अभिषेक चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै चर्च ब्वाईज सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत कार्तिक १६ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गरेका थिए । रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २२ गतेका दिन हुनेछ ।

Post Comments