News भारत र पाकिस्तान पराजित, बंगलादेशसँग लेबनान रोकियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत अन्य दुई दक्षिण एसियाली राष्ट्र भारत र पाकिस्तानले मंगलबार हारको सामना गर्दा बंगलादेशले भने महत्वपूर्ण बराबरी खेलेको छ ।

छनौट प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको भारतले आफ्नो पहिलो खेलमा गत साता कुवेतलाई १–० ले हराए तापनि मंगलबार भुवनेश्वर स्थित आफ्नै घरेलु मैदान कालिंगा स्टेडियममा बलियो कतारसँग ३–० ले पराजित हुन पुग्यो ।

त्यस्तै समूह जी मा रहेको पाकिस्तानले भने मंगलबार घरेलु मैदान इस्लामाबादमा भएको खेलमा ताजिकिस्तानसँग ६–१ ले पराजित हुन पुग्यो । स्मरणीय छ, पाकिस्तानले गत साता समूह चरणको पहिलो खेलमा बलियो साउदी अरेबियासँग उसकै घरेलु मैदानमा ४–० को हार बेहोरेको थियो ।

त्यसैगरी समूह आई मा रहेको बंगलादेशले मंगलबार घरेलु मैदान ढाकामा सम्पन्न खेलमा बलियो लेबनानसँग १–१ को बराबरी खेल्दै अंक खोसेको छ । त्यसअघि बंगलादेशले गत साता नै समूह चरणको आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग ७–० ले पराजित भएको थियो ।

Post Comments