News न्यु डाँफे र एन्फा मकवानपुरको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । न्यु डाँफे युथ क्लब र रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर यहाँ जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पिप्ले क्याम्पा रंगशालामा भएको दिनको पहिलो खेलमा न्यु डाँफेले पदमपोखरी फुटबल एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हरायो । न्यु डाँफेका लागि सरोज स्याङ्तनले एक मात्र निर्णायक गोल गरे । खेलमा न्यु डाँफेका गोलरक्षक शेख अरसत म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा एन्फा मकवानपुरले थाहा नगरपालिकालाई ५–१ को फराकिलो अन्तरले हरायो । एन्फा मकवानपुरका लागि अविनाश स्याङ्तनले दुई गोल गरे भने रोशन दोङ, सुजल श्रेष्ठ र मोहित गुरुङले थप एक–एक गोल गरे । पराजित थाहाका लागि बिनिश अमात्यले एक मात्र गोल फर्काएका थिए । खेलमा एन्फा मकवानपुरका अविनाश स्याङ्तन म्यान अफ द म्याच घोषित भए ।

एफसी मुण्डियाल, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गतेका दिन हुनेछ ।

Post Comments