News दोस्रो समपुर्ण कप शुरु, डिफेन्डिङ च्याम्पियन नवयुवाको विजयी शुरुवात
सुरज राना मगर

सुपौली । शनिबारदेखि स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा साविक विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलले विजयी शुरुवात गरेको छ ।

तिलोत्तमा नगरपालिका–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको उद्घाटन खेलमा नवयुवाले बर्दघाट नगरपालिका, नवलपरासीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ नवयुवाका लागि सरोज दर्लामीले दुई गोल गरे भने अनुज गैरेले एक गोल गरे । उता बर्दघाटका लागि सुरज आले मगरले दुई गोल गर्र्दा हिमाल घर्ती मगरले थप एक गोल गरेका थिए ।

खेलमा नवयुवाका सरोज दर्लामी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । साथै यो जितसँगै नवयुवा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत मंसिर १० गते आइतबारको खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र द राईजिङ युवा क्लब, कनहरि बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी तिलोत्तमा नगरपालिका, रुपन्देहीकी उपमेयर जागेश्वर देवी चौधरीले गरेकी थिईन् ।

तिलोत्तमा–१४ निवासी स्व.डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब. गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments