News इम्बुङमा माङ्जाबुङ, आङ्साराङ, तिजोक र फाक्तेपलाई सफलता
रमेश समदर्शी

इम्बुङ, पाँचथर । ऐतिहासिक बराहक्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा टु स्टार ग्रामीण सिर्जनशील क्लबले आयोजना गरेको पुरुष फुटबलतर्फका अन्तिम चार प्रिक्वाटर फाइनल खेल आइतबार सम्पन्न भएका छन् ।

जसमा माङ्जाबुङ, आङ्साराङ, तिजोक र फाक्तेप विजयी भएर क्वाटरफाइनल खेलमा प्रवेश गरेका छन् । त्रिवेणी युथ क्लब आङ्साराङले आनि साक्थिम युवा क्लबलाई २-० गोलले पराजित गर्यो ।

उसका लागि दुवै गोल रुस्तम लिम्बूले गरेका हुन् । यसैगरी, लुम्फाबुङविरुद्ध ब्राइट स्टार युथ क्लब फाक्तेपले पनि २-० गोलले नै पराजित गरेको हो । उसका लागि हिमाल लिम्बूले दुवै गोल गरे ।

यस्तै, इलामको श्रीजंग रातमाटे एफसीीवरुद्ध पनि तिजोक युवा क्लबले २-० गोलले नै पराजित गर्दै क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ । उसका लागि दिपेश राईले दुवै गोल गरेका हुन् ।

अन्तिम प्रिक्वाटर फाइनल खेलमा हाङ पृथ्वी सिंह फाक्तेपविरुद्ध फाक्चुवा फासिङ चुम्भो माङ्जाबुङले संघर्षपूर्ण जित निकाल्यो । दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि टाइब्रेकरमा माङ्जाबुङलेले ५-४ गोलअन्तरमा बाजी मारेको हो ।

१६ वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । विजेताले १ लाख ५ हजार पाउँदा उपविजेताले ६५ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।
 
Post Comments