News फराकिलो जितका साथ झरना क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । फराकिलो जित हात पार्दै झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले न्यु युथ युनियन क्लब, पाल्पालाई ६–२ को फराकिलो अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । समपुर्ण खेलमैदानमा भएको खेलमा झरनाका लागि रोशन थापा र अंकित रासकोटीले ह्याट्रिक गरे ।

उता पराजित न्यु युथ युनियनका लागि रितेश मल्ल र अमृत केसीले गोल गरेका थिए । खेलमा न्यु यथ युनियनले पेनाल्टीको अवसर पनि पाएको थियो । तर जनम लिगलले त्यो पेनाल्टी प्रहारलाई सदुपयोग गर्न सकेनन् ।

खेलमा झरनाका रोशन थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १४ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल देवदह ब्वाईज, देवदह र न्यु सिर्जना युथ क्लब, करौजियाबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments