News शानदार जितका साथ सञ्जिवनी सेमिफाइनलमा
सुरज राना मगर

सुपौली । फराकिलो जित हात पार्दै सञ्जिवनी युवा क्लब, बागधुरा यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा सञ्जिवनीले आहना फुटबल क्लब, बुटवललाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

समपुर्ण खेलमैदानमा भएको खेलमा सञ्जिवनीका लागि सन्जु सेन र सदिप केसीले २–२ गोल गरे । त्यस्तै बिजन बुढा र जमिर मियाँले थप एक–एक गोल गरे । खेलमा सञ्जिवनी कै कप्तान अनुप बुढा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर २१ गते बिहीबारको पहिलो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए । सञ्जिवनीले भने मंसिर २२ गते शुक्रबार हुने दोस्रो सेमिफाइनलमा आयोजक समपुर्ण युवा क्लब, सुपौलीको सामना गर्नेछ ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments