News आयोजक समपुर्ण फाइनलमा, उपाधिका लागि झरनासँग भिड्ने
सुरज राना मगर

सुपौली । आयोजक समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा समपुर्णले सन्जिवनी युवा क्लब, बागधुरालाई ३–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । तिलोत्तमा–१४ स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा समपुर्णका लागि कप्तान रोहित पुन, सन्त गुरुङ र एलिस मगरले गोल गरे । पराजित सन्जिवनीका लागि अजित लामाले गोल गरेका थिए ।

खेलमा आयोजक समपुर्णका अभिषेक महतो म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । अब आयोजक समपुर्णले मंसिर २४ गते आइतबारका दिन हुने फाइनलमा झरना स्पोर्टस क्लब, कुन्जलापुरसँग उपाधिका लागि भिड्ने छ ।

लोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक केसीले बताए । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments