News थ्रीस्टारलाई हराउँदै पुलिस फाइनलमा
गोलनेपाल

पोखरा । राम्रो लयमा देखिएको नेपाल पुलिस क्लब जारी १८औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले रुस्लान थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै विभागीय टोली उपाधि नजिक पुगेको हो । खेलको आठौं मिनटमै कप्तान भरत साहको गोलबाट पुलिसले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफसम्म पुलिसले १–० को अग्रता कायम राखे तापनि दोस्रो हाफमा भने थप दुई गोल गर्न सफल भयो । पुलिसका लागि ५१ र ७१औं मिनटमा निर कुमार राईले लगातार दुई गोल गर्दै टोलीको फाइनल यात्रा पक्का गरेका थिए ।

पुलिसका लागि दुई गोल गरेका निर कुमार राई म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments