News पोखरा बलियो स्थितिमा, बराबरीमा रोकिंदा चितवनलाई चुनौति
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ पोखरा थन्डर्सले प्ले अफमा आफ्नो स्थान बलियो बनाउँदा एफसी चितवनले भने शिर्ष चारका लागि अन्तिम खेलसम्म चुनौतिको सामना गर्नुपर्ने भएको छ ।

दशरथ रंगशालामा शनिबार भएको दिनको पहिलो खेलमा पोखराले पुछारको टोली बिरगंज युनाइटेड फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । खेलको शुरुवाती दश मिनट नाटकीय पनि बन्यो ।

खेलको छैठौं मिनट मै जोय आइडुको गोलबाट पोखराले खेलमा अग्रता बनाएको थियो । तर लगतै दशौं मिनटमा अकिन्स बफुरले बिरगंजका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफ कै ४४औं मिनटमा मोसेज ट्वुमले पोखराका दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो नतिजापछि ६ खेलबाट ११ अंक जोडेको पोखरा लिगतालिकाको दोस्रो स्थानमा छ । लिगलिडर धनगढीको पनि समान ११ अंक भए तापनि धनगढीले एक खेल कम खेलेको छ । उता पराजित बिरगंज भने ५ अंकका साथ आठौं स्थानमा छ । खेलमा पोखराका जोय आइडु प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा स्र्पोटिङ इलाम र चितवनले गोलरहित बराबरी खेलेका छन् । खेलमा आमथ एन्डावले रातो कार्ड खाँदै मैदान छाड्दा इलाम दश खेलाडीमा खुम्चिए पनि त्यसको फाईदा चितवनले उठाउन सकेन ।

यो बराबरी नतिजापछि ७ खेलबाट ६ अंकका साथ चितवन लिगतालिकाको सातौं स्थानमा छ । र, चितवनको प्ले अफको सम्भावना थप कठिन बनेको छ । उता इलाम भने ५ अंकका साथ पुछारमा छ । खेलमा चितवनका कप्तान तथा गोलरक्षक बिशाल श्रेष्ठ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

Post Comments