News धनगढी प्ले अफमा, झापालाई झट्का
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शुक्रबार भएका दुई महत्वपूर्ण खेलमा धनगढी एफसी र पोखरा थन्डर्सले बराबरी खेल्दा एफसी चितवनसँग झापा एफसीले हार बेहोरेको छ ।

दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढी र पोखराले १–१ गोलको रोमाञ्चक बराबरी खेले । खेलको ४२औं मिनटमा मिलन राईको गोलबाट अग्रता लिएको धनगढीले त्यसलाई अन्तिम समयमा गुमाउन पुग्यो ।

पोखराका लागि अन्तिमतिर मोसेज ट्वुमले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनगढीका गोलरक्षक मोहम्मद ताहा प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

यो नतिजापछि ८ खेलबाट १५ अंक जोड्दै पोखरा शिर्ष स्थान मै रहेर प्ले अफ खेल्ने पक्का बन्यो । १३ अंक जोडेको धनगढीले पनि लिगतालिकाको दोस्रो स्थानमा रहेर प्ले अफ खेल्ने आफ्नो अवसर सुनिश्चित गर्यो ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा प्ले अफको होडमा रहेको झापाले चितवनसँग ०–२ को हार बेहोर्यो । चितवनका लागि दुवै गोल ७ र ७७औं मिनटमा रफिक अमिनुले गरे । अमिनु नै खेलको प्लेयर अफ द म्याच पनि चुनिए ।

यो नतिजापछि ८ खेलबाट १० अंकका साथ झापा चौथो स्थान मै छ । यद्यपि प्ले अफमा प्रवेश गर्न झापालाई शनिबार हुने खेलहरुको नतिजा पर्खनु पर्नेछ । उता प्ले अफको होडबाट बाहिरिसकेको चितवनले अन्तिम खेलमा ९ अंक जोड्दै तत्कालका लागि पाँचौं स्थानमा उक्लिएर सिजनको सुखद समापन गरेको छ ।

Post Comments