News गोलरक्षक बिशालको सन्यास
गोलनेपाल

काठमाडौं । नेपाल फुटबलमा दशक बढी आफ्नो खुबी र क्षमता देखाईसकेका अनुभवी गोलरक्षक बिशाल श्रेष्ठले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ एफसी चितवनका मार्की खेलाडी तथा कप्तान समेत रहेका बिशालले शुक्रबार झापा विरुद्ध २–० को जित निकालेपछि खेल समाप्ती पश्चात सन्यासको घोषणा गरेका हुन् । सो खेलमा बिशाल प्लेयर अफ द म्याच पनि चुनिएका थिए ।

दुई वर्ष अघि वि.सं. २०७८ सालको भदौमा भारत विरुद्ध दशरथ रंगशालामा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका बिशालको त्यो खेल पहिलो र अन्तिम पनि बन्यो । पहिलोपटक सन् २०११ मा राष्ट्रिय टोलीमा स्थान बनाएका बिशालले त्यसपछि राष्ट्रिय टोलीमा पटक–पटक परे पनि खेल्ने अवसर नपाएका बिशालका लागि त्यो खेल नै अन्तर्राष्ट्रिय फुटबलको अन्तिम खेल बन्यो ।

एन्फा एकेडेमी हुँदै मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लबका लागि खेलेर नेपालको शिर्ष डिभिजनको उपाधि पनि उचालेका बिशालले मोफसलका थुप्रै उपाधि पनि आफ्नो पोल्टामा पारिसकेका छन् ।

स्मरण रहोस, बिशालले गत संस्करणको नेपाल सुपर लिग (एनएसएल) बुटवल लुम्बिनी फुटबल क्लबका लागि समेत खेलेका थिए । बिशालले राष्ट्रिय टोलीमा युवा खेलाडीहरुलाई अवसर दिन कै लागि आफूले सन्यासको निर्णय लिएको बिशालले बताएका छन् ।

 

Post Comments