News शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप शुरु, समपुर्णको शानदार शुरुवात
सुरज राना मगर

फर्साटिकर । मोफसलमा फरक पहिचान बनाएर वार्षिक रुपमा आयोजना हुँदै आएको शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सोमबारदेखि रुपन्देहीमा शुरु भएको छ ।

शुद्धोधन गाउँपालिका–४ स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा भएको उद्घाटन खेलमा समपुर्ण युवा क्लब, सुपौलीले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । समपुर्णले शुद्धोधन खेलकुद विकास समिति, शुद्धोधन विरुद्ध ४–१ को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो ।

समपुर्णको जितमा सनम गुरुङले दुई गोल गरे भने बिज्ञान गुरुङ र उत्तम थापाले थप एक–एक गोल गरे । उता पराजित शुद्धोधनका लागि बलराम न्यौपानेले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा समपुर्णका सनम गुरुङ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

यो जितसँगै समपुर्ण क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत पु्स १० गते मंगलबारको खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र विश्व शान्ति युवा क्लब, सालझण्डीबीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका शुद्धोधन गाउँपालिका, रुपन्देहीका अध्यक्ष बिष्णु प्रसाद बस्यालले गरेका थिए । सो अवसरमा आयोजक क्लबका अध्यक्ष मुकेश कुँवर, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

 

Post Comments