News फुलबारीलाई स्तब्ध पार्दै भैरव फाइनलमा
सुरज राना मगर

सैनामैना । भैरव एफसी, नवलपरासी यहाँ जारी लियो बिक्रम स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा दावेदार मानिएको फुलबारी गाईजलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै भैरवले फाइनलमा एकता युवा क्लबसँगको भेट पक्का गरेको हो ।

त्यसअघि सैनामैना नगरपालिका–१० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । नियमित समयतर्फ भैरवका लागि अनुप गुरुङले गोल गरेका थिए भने उता फुलबारीका लागि सबी गुरुङले गोल गरेका थिए ।

अधिकांश राष्ट्रिय स्तरका खेलाडीहरु लिएर उत्रिएको फुलबारीले नियमित समयतर्फ राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पेनाल्टी शुटआउटमा भने नतिजा गुमाउन पुग्यो । खेलमा भैरवका जय गुरुङ म्यान अफ द म्याच घोषित भए ।

अब फाइनलमा भैरवले चैत्र ५ गते बुधबारका दिन एकता युवा क्लबसँग उपाधिका लागि भिड्ने खेल संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

लियो क्लब अफ सालझण्डी, रुपन्देहीको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०११११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका उपाध्यक्ष रेजिन श्रेष्ठले बताए ।

Post Comments