News राजेश आस्था र मुर्गिया सेमिफाइनलमा
सुरज राना मगर

रुद्रपुर । राजेश आस्था फाउण्डेशन, कपिलवस्तु र मुर्गिया फुटबल क्लब, सैनामैना यहाँ जारी तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कञ्चन–४, सरकारी बोरिङ, अस्नैया स्थित रुद्रपुर माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा राजेश आस्थाले आयोजक रुद्रपुर युवा क्लब, कञ्चनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा राजेश आस्थाका सुनिल क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोही मैदानमा भएको दिनको दोस्रो खेल तथा दोस्रो क्वाटरफाइनलमा मुर्गियाले देवदह ब्वाईज, देवदहलाई २–१ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । खेलमा पराजित देवदहका निर थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुस २७ गते १२ हुने तेस्रो क्वाटरफाइनलमा हिमालयन सामुदायिक विकास केन्द्र, कञ्चन र विश्व शान्ति युवा क्लब, सालझण्डी भिड्ने छन् भने २ बजे हुने चौथो क्वाटरफाइनलमा फर्साटिकर युवा क्लब, फर्साटिकर र सुनौलो संगम, कञ्चन–४ बीच हुने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।

रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ २ गतेका दिन हुनेछ ।

Post Comments