News समपुर्ण, न्यु राईज र डि युनिटी क्वाटरफाइनलमा
सुरज राना मगर

बभनी । समपुर्ण युवा क्लब, सुपौली, आयोजक न्यु राईज युथ क्लब, बभनी र डि युनिटी क्लब, खैरेनी यहाँ जारी स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१३ स्थित बभनी भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा भएको दिनको पहिलो खेलमा समपुर्णले अमुवा फुटबल क्लब, अमुवालाई २–१ ले हरायो । समपुर्णका लागि सबी गुरुङ र रोहित पुनले गोल गरे ।

पराजित अमुवाले आत्मघाती गोल उपहार पाएको थियो । समपुर्णका उत्तम थापाले आत्मघाती गोल गर्दा अमुवाले खेलमा खाता खोले तापनि हार भने टार्न सकेन । खेलमा समपुर्णका सबी गुरुङ म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा आयोजक न्यु राईजले ह्वाईट लोटस क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो । न्यु राईजका लागि आयुष गुरुङ र मनिष पुनले एक–एक गोल गरे भने थप एक गोल इन्द्र भण्डारीले गरे । खेलमा न्यु राईजका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको तेस्रो खेलमा डि युनिटीले चपरहट्टी युवा क्लबलाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ डि युनिटीका लागि नवराज थापाले गोल गरे भने चपरहट्टीका लागि अनुप गुरुङले गोल गरेका थिए । खेलमा डि युनिटीका गोलरक्षक बिशाल चौबे म्यान अफ द म्याच घोषित भए ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लाहले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।

Post Comments