News दिनेशको ह्याट्रिकसहित लिस्नु फाइनलमा
गोलनेपाल

लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी ३२ औं झरना कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा लिस्नुले पश्चिमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्रलाई ५–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

तिलोत्तमा ६, कुञ्जलापुरस्थित उमा निमाविको खेल मैदानमा सम्पन्न खेलमा लिस्नुका लागि दिनेश हेन्जनले ह्याट्रिक गरे । त्यस्तै दिपक गुरुङ र अमृत गुरुङले एक–एक गोल गरे । उता पराजित पुलिसका लागि इनोद गुरुङले एक मात्र सान्त्वना गोल फर्काए ।

बुधबारको खेलमा ह्याट्रिक गरेका लिस्नुका दिनेश हेन्जन खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत असोज २५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, सौ–फर्साटिकर र फुलबारी गाईज, बुटवलबीच हुने आयोजक क्लबका अध्यक्ष लोक पुनले बताए ।

Post Comments