News स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप माघ १६ देखि
सुरज राना मगर

देवीनगर । स्थानीय खेलाडी, स्थानीय फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको छैठौं संस्करण यही माघ १६ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी गराउन शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, देवीनगरका अध्यक्ष अर्जुन क्षेत्रीले प्रतियोगिताको मुख्य प्रायोजक पनि प्राप्त भएको जानकारी दिए ।

यसपटक स्थानीय फुटबलमा निरन्तर आफ्नो सहभागिता जनाउँदै आइरहेकी फुटबलप्रेमी तथा सामाजिक अभियन्ता श्रीमाया गुरुङ र उनको परिवारद्वारा स्व. पिता डिम बहादुर गुरुङ स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरिएको जानकारी गराइयो ।

मुख्य प्रायोजनसँगै प्रतियोगिताको नाम स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिता रहने पनि क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए । साथै उनले प्रतियोगितामा सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताए ।

उता मुख्य प्रायोजक बनेकी श्रीमाया गुरुङले दिवंगत पिता कै स्मृतिमा आफूले निन्तर खेलकुद र सामाजिक कार्यमा सहयोग गर्दै आएको स्मरण गर्दै फुुटबलप्रति आफ्नो विशेष रुची भएकै कारण गाउँघरकै फुटबललाई आफूले सकेको साथ दिएको बताईन् ।

कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले सन्जिवनी कपले जिल्लाको फुटबलमा फरक पहिचान बनाएर अगाडी बढिरहेको चर्चा गर्दै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न शुभकामना दिए ।

यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहने खेल संयोजक खिम थापाले बताए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक थोरै भए पनि स्थानीय टिमहरुलाई नै सहभागिता गराइने बताए ।

Post Comments