News ललितपुर फुटबल संघका अध्यक्ष थापामाथि एन्फाको कारवाही
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध कडा टिप्पणी गरेपछि एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि कारवाही गरेको छ ।

एन्फाले थापामाथि कारवाही स्वरुप यहि जेठ ५ गतेदेखि लागु हुने गरि एन्फाको आगामी साधारण सभासम्मका लागि उनलाई निलम्बन गरिएको हो ।

स्मरण रहोस, थापाले ए, बी र सी डिभिजन क्लबका लागि बनाइएको ग्रुप च्याटमा एन्फा डे (बैशाख २८) का दिन एन्फाविरुद्ध खरो रुपमा आलोचना गरेका थिए ।

सो बेला एन्फाका उपाध्यक्ष पंकज नेम्वाङको पोष्टको जवाफ दिंंदै थापाले लेखेका थिए, "आज एन्फा दिवस होइन । चोरहरुको श्री गणेश डे हो ।"

थापाको यो टिप्पणी पश्चात असन्टुष्ट बनेको एन्फाले थापासँग स्पष्टीकरण मागेको थियो । थापाले आफ्नो स्पष्टीकरण पनि दिएका थिए । यद्यपि एन्फा भने थापाको स्पष्टीकरणसँग सन्टुष्ट देखिएन र उनी कारवाहीमा परेका हुन् ।

उता एन्फाले आफ्नो विधानअनुसार गठन गरिएको अनुशासन कमिटीले थापामाथि उक्त कारवाही गर्ने निर्णय गरेको बताएको छ । एन्फाका अनुसार ललितपुर फुटबल संघका अध्यक्ष थापाले एन्फाको नियम उल्लंघन गरेकै कारण कारवाही गरिएको बताएको छ ।

स्मरणीय छ, थापा सहित काठमाडौं, धादिङ र भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षहरु वर्तमान एन्फा नेतृत्व विरुद्ध असन्तुष्ट छन् । साथै उनीहरुले एन्फामाथि अनियमितताको आरोप समेत लगाउँदै आएका छन् ।

 

Post Comments