
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अभ्यास जुलाई महिनादेखि शुरु गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको एन्फाको आकस्मिक बैठकले फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटका लागि राष्ट्रिय फुटबल टोलीको अभ्यास जुलाईदेखि शुरु गर्ने निर्णय गरेको हो ।
छनौट प्रतियोगितातर्फ नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग तीन खेलहरु खेल्न बाँकी छन् । साथै ती सबै खेलहरु घरेलु मैदानमा हुनेछन् । साथै एन्फाले अभ्यास शुरु गर्नुअघि राखेप, खेलकुद मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग अनुमति लिने समेत स्पष्ट पारेको छ ।
स्रोतका अनुसार उता एएफसी र फिफाबाट यसका लागि आवश्यक सफाई एन्फाले छिटै पाउने बताइएको छ । स्मरण रहोस, यसअघि विश्वकप छनौट तथा एसियन कप छनौटको दोस्रो चरणका खेलहरु मार्च र जुन महिनामा हुने तय भईसकेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण तत्कालका लागि उक्त मितिहरु स्थगन गरिएको थियो ।
साथै एएफसीले फिफासँगको आवश्यक छलफल पश्चात छनौट प्रतियोगिताका लागि नयाँ मितिहरु तय गरेको थियो । जसअन्तरगत म्याचडे ७ र ८ का खेलहरु अक्टुबर ८ र १३ तारीखका दिन हुनेछन् भने म्याच डे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ तारीखका दिन हुने निर्णय भएको छ ।