News पोखरामा अर्को फुटबल मैदान बन्दै, डिपिआर पनि तयार
गोलनेपाल

पोखरा । पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरताले मात्र नभएर खेलकुदको आकर्षणले पनि परिचित बन्दैछ । खेल मात्र नभएर त्यसका लागि आवश्यक पर्ने खेलमैदान पनि पोखरामा धमाधम निर्माण हुँदैछ ।

यसैक्रममा पोखरा महानगरपालिका १५ स्थित रातीखहरेमा निर्माण हुन लागेको खेलमैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार भएको छ । उक्त मैदानलाई आर्थिक वर्ष २०७७–७८ मै सम्पन्न गर्ने लक्ष्य समेत लिइएको छ ।

फुटबल मैदान निर्माण सम्पन्न गर्नका लागि कुल १ करोड ५४ लाख ७ सय ७९ रुपैयाँ खर्च हुने प्रतिवेदनमा उल्लेख छ । पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेलका अनुसार उक्त खेलमैदान पोखरा कै एक नमूना र उदाहरणीय फुटबल मैदान बन्ने बताए ।

अध्यक्ष पौडेलका अनुसार डिपिआर तयार भएर मैदानको एक चरणको कार्य पनि सम्पन्न भइसकेकाले सबैको साथ र सहयोगले खेलमैदानको सम्पूर्ण कार्य निश्चित समय भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको समेत बताए ।

(तस्विरः सुदर्शन रन्जित / गोलनेपाल)

 

Post Comments