काठमाडौं । नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन् ।
कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पुर्व राष्टिय खेलाडी अक्कल बहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्च मार्फत बुधवार हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष देबेन्द्र सुवेदीले प्रशिक्षक नरकुमार राईलाई बुधवार रकम हस्तान्तर गरेका हुन् ।
उनकी ११ वर्षिया छोरी कसुमी राई ब्लड क्यान्सर रोगले पीडित छिन् र हाल उनी महाराजगञ्जस्थित कान्ति बाल हस्पिटलमा उपचाररत छिन् ।
एपीएफबाट खेल्ने म्याराथन धावक अक्कल बहादुर बोहोराले यसअघि पनि समस्यामा परेका थुप्रै नेपालीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।
उनको सहयोगका लागि कोस्टाब्लान्का समाजका सदस्यहरु बोहोरा बाहेक सुरज बानियाँ, सुवास सापकोटा, बिपिन वुढाथोकी, शिव नेपाल, दिनेश सापकोटा, नवराज दुवाडी, सन्तोष अर्याल, एकबहादुर भट्ट, प्रकाश तिवारी रहेका छन् ।
प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिएका छन् । उनले हालसम्म छोरीको उपचार १४ लाख रुपैंया खर्च भइसकेको र पुर्ण रुपमा ठिक गर्न अझै रकम अभाव भएको बताएका छन् ।
उनले आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको उपचामा सहयोग गरिदिन सबैसमक्ष अपिल गरेका छन् । ’नरे दाई’ को नामले चर्चित राई २०६२ साल देखी २०६८ सालसम्म एपिएफबाट खेलेका थिए ।
खेलाडी जीवनमा सक्रिय छदै उनले २०६४ सालबाट महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए । २०७३ साल रिटायर्ड हुँदासम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले ।
अहिलेका चर्चित खेलाडीहरु सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बू, अनिता केसी, मञ्जली योञ्जन, एञ्जिला तुम्बापो जस्ता खेलाडीहरु राईको प्रशिक्षणमा हुर्केका हुन् ।
जागिरे जीवनपछि पैसा कमाउन राई बहराईन गएका थिए । त्यहाँ २१ महिना काम गरिरहंदा छोरीलाई क्यान्सर भएपछि उनी फर्किएका हुन् ।