News गोलको वर्षा गर्दै नव टिकुलीगढ क्वाटरफाइनलमा
सुरज राना मगर

करौजिया । फराकिलो अन्तरको जितका साथ नव टिकुलीगढ युवा क्लब, टिकुलीगढ यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ नव टिकुलीगढले ओमसतिया फुटबल क्लब, ओमसतियालाई शून्यका विरुद्ध १० गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।

तिलोत्तमा–१३, करौजिया स्थित न्यु सृजना खेलमैदानमा भएको खेलमा नव टिकुलीगढका लागि निराजन खत्री एक्लैले ६ गोल गरे । त्यस्तै जितेश गुरुङले दुई गोल गरे भने उमेश थापा र नर बहादुर थापाले थप एक–एक गोल गरे ।

खेलमा दोहोरो ह्याट्रिक गरेका नव टिकुलीगढका निराजन खत्री म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन १३ गते आइतबारको खेल आयोजक न्यु सृजना युवा क्लब, करौजिया र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या। नरजंज गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

 

Post Comments