News फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

करौजिया । फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले न्यु राईज युथ क्लब, बभनीलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । त्यसअघि तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ न्यु राईजका लागि इन्द्र भण्डारीले गोल गरेका थिए भने फर्साटिकरका लागि टिकाराज गुरुङले गोल गरेका थिए । टाईब्रेकरमा भने फर्साटिकरसँग न्यु राईज ३–२ ले निराश बन्न पुग्यो ।

खेलमा फर्साटिकरका कप्तान तथा गोलरक्षक शुभांकर जिसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १५ गते मगर दिवसका कारण खेल नहुने आयोजकले जानकारी दियो । त्यस्तै फागुन १६ गते हुने प्रिक्वाटरफाइनलतर्फ समपुर्ण युवा क्लब, सुपौली र देवीनगर युवा क्लब, बुटवल बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या। नरजंज गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments