News कञ्चन कप शुरु, फुलबारीको उत्कृष्ट शुरुवात
सुरज राना मगर

दियोबजार । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–४, दियोबजारको आयोजनामा बुधबारदेखि शुरु कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगितामा फुलबारी गाईज, बुटवलले उत्कृष्ट शुरुवात गरेको छ ।

कञ्चन–४, दियोबजार स्थित आयोजक संस्था कै खेलमैदानमा भएको उद्घाटन खेलमा फुलबारीले कपिलवस्तु–११ लाई शून्यका विरुद्ध ३ गोलले हरायो । खेलमा फुलबारीका लागि सरोज क्षेत्रीले दुई गोल गरे भने थप एक गोल अजित गुरुङले गरे ।

खेलमा दुई गोल गरेका फुलबारीका सरोज क्षेत्री म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै फुलबारी क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन १७ गते बिहीबारको खेल आयोजक कञ्चन–११ र फर्साटिकर युवा क्लब, शुद्धोधन बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी पुन थापा, आयोजक समितिका अध्यक्ष प्रकाश थापा लगायतले संयुक्त रुपमा गरेका थिए । आउँदो फागुन २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १५ हजार प्राप्त गर्नेछ ।

कञ्चन गाउँपालिकाको कार्यालय, रुपन्देही संरक्षक रहेको प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न दर्शकसँगै सबैको साथ र सहयोगको खाँचो पर्ने बताउँदै आयोजक समितिका अध्यक्ष प्रकाश थापाले प्रतियोगिता मैदान मै उपस्थित भई अवलोकन गरेर खेलको शोभा बढाईदिन सबैमा हार्दिक अनुरोध समेत गरे ।

Post Comments