News छैटौं झापा गोल्डकप शुरु, एपिएफको विजयी शुरुवात
रमेश समदर्शी

बिर्तामोड । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्डकपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।

खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

५५औँ मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६औँ मिनेटमा एपिएफका प्रदिप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो ।

अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बचाए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

Post Comments