News एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । सशस्त्र प्रहरी बलको एपीएफ एफसी झापामा जारी छैटौँ झापा गोल्डकपको सेमिफानइलमा प्रवेश गरेको छ । सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गरेको एपीएफले आज भएको पहिलो क्वाटरफाइनल खेलमा बागमतीलाई ४–३ गोल अन्तरले हराएको हो । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल टुंगिएपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो ।

खेलको अन्त्यतिर एपीएफका दिपेश धिमाल दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । केही सेकेन्डमै खेल सकिएको थियो । आजको खेलमा एपीएफका धेरै खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

खेलको निर्णयका लागि रोजिएको टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गरे भने बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूको प्रहारमात्र गोलमा परिणत भएको थियो । निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोके ।

एपीएफका एञ्जल म्यान अफ दी म्याच बन्दै नगद ११ हजार पाउन सफल भए । पहिलो चरणको खेलमा पनि एञ्जल प्लेयर अफ द म्याच भएका थिए । उद्घाटन खेलमा पनि एपीएफले संकटा क्लबलाई टाइब्रेकरमै पराजित गरेको थियो ।

खेलपछि विजेता टिम प्रशिक्षक सुमन श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए । उनले झापाजस्तो प्रतिष्ठित गोल्ड कपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे ।

बागमती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोरेको बताए । खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।

मंगलबारको दोस्रो क्वाटरफाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ । १० टोली सहभागी यस गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउने छ ।

Post Comments