News झापा गोल्डकपः एपिएफलाई कारवाही (विज्ञप्तीसहित)
रमेश समदर्शी

बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले विभागीय टोली एपिएफ फुटबल क्लबलाई प्रतियोगिताको नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको छ । छैटौं झापा गोल्डकप अन्तर्गत यही फागुन २१ गते सोमबार भएको क्वाटरफाइनल खेलतर्फ एपिएफले बागमती विरुद्ध खेल्ने क्रममा आफ्नो खेलाडीको जर्सीमा हातैले लेखेको नम्बर प्रयोग गरेपछि त्यसले चौतर्फी आलोचना बेहोरेको थियो ।

तस्विर भाइरल भए लगतै झापा गोल्डकपको अनुशासन कमिटीले एपिएफलाई कारवाही गर्ने निर्णय गरेको हो । अनुशासन कमिटीका अनुसार एपिएफ क्लबले प्रतियोगिता नियमावलीको दफा १० को प्रावधान बमोजिम खेलाडीको जर्सी तथा जर्सीको रङ्ग सम्बन्धी नियम उल्लंघन गरेको र यसो गर्दा प्रतियोगिताको गरिमा मै आँच आउने कार्य भएको भन्दै एपिएफलाई आयोजकले कारवाही गरेको छ ।

कारवाही अनुसार झापा गोल्डकप आयोजक समितिले तत्कालका लागि एपिएफसँग आइन्दा यस्तो कार्य नगर्ने भनी लिखित माफी माग्र्ने निर्णय गरेको छ । साथै क्लबलाई ११ हजार आर्थिक जरिवाना गर्ने निर्णय समेत भएको आयोजकले जनाएको छ ।

स्मरण रहोस, फागुन २१ गते एपिफले बागमती विरुद्ध खेलेको क्वाटरफाइनल खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । साथै, एपिएफले यही फागुन २५ गते सेमिफाइनल खेल्ने कार्यक्रम पनि छ ।

Post Comments