News एनआरटी चर्च ब्वाइजसँग स्तब्ध
रमेश समदर्शी

झापा । लिग च्याम्पियन चर्च ब्वाइज युनाइटे क्लब झापामा जारी छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लबलाई क्वाटरफाइनलमा रोक्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो ।

एनआरटीलाई स्तब्ध बनाउन चर्च ब्वाइज युनाइटेडको नतिजा १-० गोल नै पर्याप्त बन्यो । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले गरेका हुन् । दायाँ साइडबाट सञ्जित राई (लाहुरे)ले मिलाइदिएको पासमा अबयोमीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको प्लेयर अफ दि म्याच निर्णायक गोल असिस्ट गरेका चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चार संस्करणको झापा गोल्डकपको विजेता टोली हो ।

चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले टिमका मुख्य खेलाडीको अभावमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए । टिम सेट हुन समय नपुगेकाले अवसर सिर्जना भए पनि स्कोर गर्न नसकिएको बताए ।

चर्च ब्वाइजबाट रािष्ट्रय टिमका लागि चारजना स्टार खेलाडी बन्द प्रशिक्षणमा छन् । उनीहरुको अभाव टिममा खड्किएको प्रशिक्षक राईको भनाइ थियो ।

एनआरटीका प्रशिक्षक जीवन सिङकेमानले फिनिसिङको अभाव टिममा देखिएको बताए । मुख्य दुईजना खेलाडी टिममा नभएका कारण तालमेल नमिलेर हार ब्यहोर्नु दाबी गरे ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments