News ११औं नवयुवा कप शुरु, लिस्नुको विजयी शुरुवात
सुरज राना मगर

ओमसतिया । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा मंगलबारदेखि शुरु ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब, कोटिहवाले विजयी शुरुवात गरेको छ ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको उद्घाटन खेलमा लिस्नुले देवदह ब्वाईज, देवदहलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । लिस्नुको जितमा खेलको ५५औं मिनटमा अमर डंगोलले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

निर्णायक गोलकर्ता लिस्नुका अमर डंगोल नै म्यान अफ द म्याच चुनिए । यो जितसँगै लिस्नु क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन ३० गते बुधबारको प्रिक्वाटरफाइनल खेल झरना स्र्पोटस क्लब, कुन्जलापुर र न्यु सृजना युवा क्लब, करौजिया बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले गरेका थिए । सो अवसरमा ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, ओमसतिया गाउँपालिका वार्ड नम्बर १ का अध्यक्ष बेल बराल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments