News भरतपुर च्याम्पियनसिप : २८ बिगा फाइनलमा
गोलनेपाल

चितवन । रोमाञ्चक खेलमा घैरुङ एफसीलाई हराउँदै २८ बिगा भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा घैरुङ एफसीलाई सडन डेथमा हराउँदै २८ बिगा फाइनलमा प्रवेश गरेको हो । रोमाञ्चक खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो ।

खेलको निर्धारित समयमा २८ बिगाले दुई पटक लिएको अग्रता जोगाउन सकेन । उसका लागि दुबै गोल विश्व लामाले गरे । खेलको १४ औं मिनेटमा विश्वको गोलमा २८ बिगाले अग्रता लिएको थियो । तर ३६ औं मिनेटमा सन्जय श्रेष्ठले घैरुङका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको अतिरिक्त समयमा पुनः विश्वले गोल गर्दै २८ विघालाई अग्रता दिलाए । ६३ औं मिनेटमा सन्जयको गोलमा घैरुङ खेलमा फर्कियो । बाँँकी समयमा गोल हुन सकेन र खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि २-२ को बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । जसमा २८ विगा विजयी भयो । टाइब्रेकरमा दुई प्रहार बचाएका २८ बिगाका गोलकिपर विरेन्द्र सारु मगर म्यान अफ दि म्याच भए ।

यो सँगै फाइनल प्रवेश गरेको २८ बिगाले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार आबुखैरहनी गाउँपालिका र गैंडाकोट एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

Post Comments