News आयोजक नवयुवा सेमिफाइनलमा
सुरज राना मगर

ओमसतिया । कठिन जितका साथ आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल यहाँ जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो क्वाटरफाइनलमा नवयुवाले आहना फुटबल क्लब, बुटवललाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा निर्धारित समयतर्फ आहनाका लागि मिलन आले मगरले गोल गरेका थिए भने नवयुवाका लागि जमिर मियाँले गोल फर्काएका थिए । टाईब्रेकरमा भने नवयुवाले आहनामाथि ४–३ को जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गर्यो ।

खेलमा आयोजक नवयुवा कै उमेश थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत ७ गते बुधबारको पहिलो सेमिफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र न्यु राईज युथ क्लब, बभनी बीच हुने खेल संयोजक बिष्णु बराल मगरले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments