News न्यु राईज ११औं नवयुवा कपको फाइनलमा
सुरज राना मगर

ओमसतिया । कठिन जितका साथ न्यु राईज युथ क्लब, बभनी यहाँ जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्यु राईजले दावेदार मानिएको समपुर्ण युवा क्लब, सुपौलीलाई सडन डेथमा हराउँदै पहिलोपटक उपाधि नजिक पुगेको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा सडन डेथमा न्यु राईजले समपुर्णमाथि ४–३ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो ।

त्यसअघि निर्धारित समयतर्फ न्यु राईजका लागि अभिषेक महतोले गोल गरेका थिए भने समपुर्णका लागि राम शाहीले पेनाल्टी मार्फत बराबरी गोल फर्काएका थिए । खेलमा न्यु राईजका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत ८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक नवयुवा क्लब, ठुटिपिपल र सन्जिवनी युवा क्लब, देवीनगर बीच हुने खेल संयोजक बिष्णु बराल मगरले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments